रवि–बालेन भेट सकारात्मक, नयाँ शक्तिहरू एकजुट हुने संकेत
काठमाडौँ,पुस १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग भएको छलफल सकारात्मक रहेको बताउनुभएको छ। बिहीबार ललितपुरमा दुई नेताबीच भएको भेटवार्ता आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर नयाँ राजनीतिक शक्तिहरू एक ठाउँमा ल्याउने प्रयासस्वरूप गरिएको हो।
छलफलमा दुवै पक्षले समसामयिक राजनीतिक अवस्था, वैकल्पिक राजनीतिक धारको आवश्यकता र भविष्यको सहकार्यका विषयमा खुलेर विचार आदान–प्रदान गरेको जनाइएको छ। भेटमा जेन–जी अभियन्ता सुदन गुरुङ, रक्षा बम र पुरुषोत्तम यादवको पनि सहभागिता रहेको थियो।
त्यसैगरी, सोही छलफलमा उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ, निवर्तमान सांसद अमरेश कुमार सिंह र सुनिल शर्मा लगायतका नेताहरूको उपस्थिति रहेको थियो। सहभागी नेताहरूले पुराना राजनीतिक अभ्यासभन्दा फरक, नागरिकमुखी र उत्तरदायी राजनीतिका लागि सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
छलफललाई सकारात्मक संकेतका रूपमा लिइएको छ भने आगामी दिनमा नयाँ शक्तिहरूबीच थप संवाद र सहकार्य अघि बढ्ने अपेक्षा गरिएको छ।

