काठमाडौँ-तुप्चे एकता समाजको २१औँ साधारणसभा अवसरमा खेलकुद र सिर्जनात्मक कार्यक्रम सुरु



नुवाकोट, पुस १० । तुप्चे काठमाडौँ एकता समाजको २१औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित विभिन्न खेलकुद तथा रचनात्मक गतिविधिहरूको उद्घाटन विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले गर्नुभएको छ। प्रतियोगिताको पहिलो दिन नगरप्रमुख श्रेष्ठले दौड प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो।

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा भलिबल, डोरीतान्ने, सामूहिक नृत्य, कविता वाचन, एभरेष्ट मेमोरी क्विज, साहित्य लेखन प्रशिक्षण, विद्यालयहरूलाई पुस्तक वितरण तथा एसइईमा उत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई ‘कर्ण–शिवकुमारी छात्रवृत्ति’ प्रदान गर्ने कार्यक्रमहरू समावेश छन्।

समाजका अध्यक्ष सिताराम थापाको सभापतित्वमा सञ्चालन भइरहेको कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रबिन्द्र नेपाल, त्रिशूली अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकी, विभिन्न विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थी, स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षा तथा खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको छ।

साधारणसभाको अवसरमा आयोजना गरिएका यी गतिविधिहरूले सामाजिक एकता मजबुत बनाउने, युवामा खेलकुद र सिर्जनशीलताको विकास गर्ने तथा शिक्षामा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्