नुवाकोट क्षेत्र–१ बाट प्रचण्ड पहिलो प्राथमिकतामा सिफारिस
नुवाकोट, पुस ११ । नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नुवाकोटको जिल्ला बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
बिहीबार साँझ सम्पन्न बैठकले नुवाकोट संघीय निर्वाचन क्षेत्र नम्बर १ बाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नाम पहिलो प्राथमिकतामा सिफारिस गरेको छ। यसअघि क्षेत्रीय कार्यक्रममा हितबहादुर तामाङको मात्र नाम सिफारिस भए पनि जिल्ला समितिले दाहालको नाम थप गर्दै पहिलो नम्बरमा राखेको हो।
यसै सन्दर्भमा पूर्वमन्त्री तथा निवर्तमान सांसद हितबहादुर तामाङले पार्टी अध्यक्ष प्रचण्ड नुवाकोटबाट उम्मेदवार बन्ने भए आफूले स्थान छोड्न तयार रहेको र यसलाई नुवाकोटवासीका लागि भाग्यको विषयका रूपमा लिने बताउँदै आएका थिए। बैठकले तामाङको नाम भने दोस्रो नम्बरमा सिफारिस गरेको छ।
त्यस्तै, नुवाकोट क्षेत्र नम्बर २ बाट राजेन्द्र प्रकाश लोहनीलाई पहिलो नम्बरमा सिफारिस गरिएको छ। लोहनी मूलतः क्षेत्र नम्बर १ का भए पनि सहमतिका आधारमा क्षेत्र नम्बर २ मा सिफारिस गरिएको नेताहरूले जानकारी दिएका छन्। लोहनी एकीकृत समाजवादीबाट एकतामा सहभागी भएका नेता हुन्।
क्षेत्र नम्बर २ का लागि दोस्रोमा हिरानाथ खतिवडा, तेस्रोमा राजकुमार रेग्मी (सन्देश), चौथोमा शुभद्रा नेपाल र पाँचौँमा प्रकाश रैला सिफारिस भएका छन्। क्षेत्र नम्बर २ मा २५ जनाभन्दा बढी आकांक्षी भए पनि बैठकले पाँच जनाको मात्र नाम सिफारिस गरेको हो।
बैठकले समानुपातिक तर्फका उम्मेदवारको नाम पनि तय गरेको जनाएको छ। समानुपातिक सूचीको पहिलो समूहमा पुष्प लामिछाने, गमला श्रेष्ठ, शिवबहादुर खाती र दोस्रो समूहमा गोविन्द नेपाली, मिना प्रजापति तथा सुवास लामालाई सिफारिस गरिएको छ।

