समयमै निर्वाचन हुने सरकारको प्रतिबद्धता, कुनै अन्योल छैन : सञ्चारमन्त्री खरेल
काभ्रेपलाञ्चोक, पुस ११ ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने स्पष्ट पार्नुभएको छ।
बिहीबार काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खरेलले निर्वाचनका लागि सरकारले आवश्यक वातावरण बनाइसकेको र राजनीतिक दलहरू पनि सक्रिय रूपमा तयारीमा जुटिसकेको बताउनुभयो। निर्वाचनको विषयमा कुनै पनि प्रकारको अन्योल नरहेको उल्लेख गर्दै उहाँले राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन अपरिहार्य रहेको धारणा राख्नुभयो।
मन्त्री खरेलले सरकार निर्वाचन प्रक्रियाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै भन्नुभयो, “निर्वाचनको वातावरण निर्माणका लागि सरकारले नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरूकै कार्यालयमा पुगेर छलफल तथा अन्तरक्रिया गरिसकेको छ। साथै राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच बैठक पनि भएको छ। यसले निर्वाचन सुनिश्चित हुने वातावरण बनाएको छ।”उहाँले दलहरू निर्वाचनका लागि तयार रहेको र सरकारले आवश्यक तयारी तीव्र गतिमा अघि बढाइरहेको जानकारी दिनुभयो।
यस अवसरमा पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यलाई अझ मजबुत बनाएर विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसै क्रममा सञ्चारमन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने खरेलथोक स्वारामा प्रत्येक वर्ष आयोजना हुने कुलपूजा तथा विविध धार्मिक कार्यक्रमलाई पनि सम्बोधन गर्नुभयो।उहाँले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकारको विशेष ध्यान रहेको बताउँदै यस्ता गतिविधिले सामाजिक एकता र मौलिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो।

