राप्रपाले नुवाकोटका दुई क्षेत्रमा ५७ उम्मेदवार सिफारिस, डा. प्रकाशचन्द्र लोहनी दुवै सूचीको अग्रस्थानमा
नुवाकोट, पुस ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटका दुईवटै निर्वाचन क्षेत्रबाट ५७ जनाको नाम सिफारिस गरेको छ। पार्टीको जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले प्रत्यक्ष र समानुपातिक दुवै तर्फ गरी उम्मेदवारहरूको नाम सिफारिस गरेको हो।
राप्रपाले पार्टीका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलाई प्रत्यक्ष र समानुपातिक दुवै सूचीमा पहिलो नम्बरमा राख्दै सिफारिस गरेको छ। लोहनीको नाम नुवाकोट क्षेत्र नम्बर १ र २ दुबैमा अग्रस्थानमा सिफारिस गरिएको छ। साथै काठमाडौं क्षेत्र नम्बर ४, ५ र ६ बाट समेत लोहनी सिफारिस भइसकेका छन्।
नुवाकोट क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ डा. लोहनीसँगै केन्द्रीय सदस्यहरू झनक प्याकुरेल, विष्णु सापकोटा, फडिन्द्रराज लोहनी (राजु), दिपेश लामा, युवराज पाण्डे, मेघराज अर्याल र नुरप्रसाद न्यौपानेलाई सिफारिस गरिएको छ। समानुपातिकतर्फ डा. लोहनी, विष्णु सापकोटा, झनक प्याकुरेल, यादव सिलवाल, विष्णु अर्याल, दिपेश पाण्डे, माधव पौडेल, रामबहादुर खड्का र शिव अधिकारीको नाम सिफारिस गरिएको छ।
जनजाति समूहबाट कुलबहादुर खड्गी, अक्कल तामाङ, राम डंगोल र राजकुमार तामाङको नाम सिफारिस गरिएको छ। महिलातर्फ गंगा तामाङ, शर्मिला तामाङ र यशोदा दाहाल सिफारिसमा परेका छन् भने दलिततर्फ कृष्णबहादुर विक, जगत परियार, राधिका विक र अस्मिता परियारको नाम समेटिएको छ। मुस्लिम समुदायबाट समिमा बानुको नाम सिफारिस गरिएको छ।
नुवाकोट क्षेत्र नम्बर १ बाट पनि डा. लोहनीसहित २८ जनाको नाम सिफारिस गरिएको छ। प्रत्यक्षतर्फ लोहनीपछि केन्द्रीय सहमहामन्त्री दिपक कुमार राई दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा केन्द्रीय सदस्यहरू भरतप्रसाद पाठक, जनकराज पाठक, सुदर्शन सिटौला र उद्धव भेटुवाल रहेका छन्। यसैगरी बाबुराम थापा, जनार्दन अधिकारी र सुरेन्द्रजंग थापालाई समेत प्रत्यक्षतर्फ सिफारिस गरिएको छ।
समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा पनि पहिलो नम्बरमा डा. लोहनीलाई राखिएको छ। त्यसपछि भरतजंग उप्रेती, गोकर्णराज सिटौला, नरेन्द्र फुर्याल, नारायण अधिकारी, सुरेन्द्रप्रसाद ढकाल, श्यामकृष्ण गजुरेल र अनबहादुर प्याकुरेलको नाम सिफारिस गरिएको छ। महिला खुलातर्फ नानीमाया आचार्य, तुलसी पौडेल, मिना थापा र शोभा मञ्जली (ढुंगाना) सिफारिसमा परेका छन्।
जनजातितर्फ अष्टमाया लामा, कान्छाराम लामा, रामकुमार राई, बाबुकाजी श्रेष्ठ, प्रतिमा तामाङ र बमबहादुर तामाङको नाम सिफारिस गरिएको छ भने जनजाति महिलातर्फ अष्टमाया लामा र प्रतिमा तामाङको नाम समावेश गरिएको छ।
राप्रपाले विभिन्न वर्ग, समुदाय र पुस्ताको प्रतिनिधित्व हुने गरी उम्मेदवार सिफारिस गरिएको जनाएको छ।



