ढुङ्गाले लागेर ताप्लेजुङमा एक मजदुरको मृत्यु, एक घाइते
ताप्लेजुङ, पुस ११ — ताप्लेजुङमा ढुङ्गाले लागेर शुक्रबार एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपस्थित तमोर–५ जलविद्युत् आयोजनाको आटलेट सुरुङ निर्माण कार्यका क्रममा माथिबाट खसेको ढुङ्गा लाग्दा दैलेखको गुराँस गाउँपालिका–३ निवासी २४ वर्षीय भद्रबहादुर शाहीको मृत्यु भएको हो। घटनामा बर्दियाको मधुवन नगरपालिका–४ निवासी ३३ वर्षीय आकाश खड्का घाइते भएका छन्।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार सुरुङ निर्माणको काम भइरहेका बेला अचानक माथिबाट खसेको ढुङ्गाले शाही र खड्कालाई लागेको थियो। गम्भीर घाइते भएका शाहीलाई तत्काल उपचारका लागि तापेथोक आधारभूत अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घाइते खड्काको दाहिने खुट्टा भाँचिएको जनाउँदै प्रहरीले प्राथमिक उपचारपछि उनलाई जिल्ला अस्पताल ताप्लेजुङ सिफारिस गरिएको जानकारी दिएको छ। मृतक शाहीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक आशिष पोखरेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।

