पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो
काठमाडौँ,पुस १२ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।
महाशाखाले आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो कायमै रहने जनाएको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
यस्तै, आज राति पनि तराई भूभागका अधिकांश स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।
मौसमविद्हरूले हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

