काठमाडौँका तीन यातायात कार्यालयमा छापा, १४ बिचौलिया पक्राउ



काठमाडौं,पुस १२ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले तीनवटा छुट्टाछुट्टै यातायात कार्यालय तथा ट्रायल सेन्टरमा छापा मारेर १४ जनालाई पक्राउ गरेको छ।

कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार काठमाडौँको गुर्जुधारा, चाबहिलको दक्षिणढोका र भक्तपुरको राधेराधेमा रहेका यातायात कार्यालय तथा ट्रायल सेन्टरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकाले सेवाग्राहीसँग लिखित तथा ट्रायल परीक्षा पास गराइदिने, लाम नलागी लाइसेन्स नवीकरण गराइदिने, स्वास्थ्य परीक्षण पास गराइदिने भन्दै प्रलोभनमा पारी १० हजार रुपैयाँसम्म असुल्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–८ का झमकलाल श्रेष्ठ, काभ्रेपलाञ्चोक बनेपा–५ का अनिमेष अवा, दोलखा तामाकोशी–४ का वासु खड्का, झापा कमल गाउँपालिका–२ का भीमबहादुर नेम्वाङ, काठमाडौँ–८ गुह्येश्वरीका प्रदीप श्रेष्ठ, कागेश्वरी मनोहरा–५ की सर्मिला चौलागाईं, सिन्धुपाल्चोक मेलम्ची–१० की दीपा कटुवाल, पर्वत जलजला–४ का दुर्गाप्रसाद न्यौपाने र चन्द्रागिरि–५ गुर्जुधाराका रन्जित महर्जन रहेका छन्।

यसैगरी नवलपरासी बर्दघाट–११ का अर्जुन चौधरी, सिन्धुपाल्चोक चौतारा–६ का दिवस लामा, सुनसरी इटहरी–१० का सरोज ढुङ्गाना, काभ्रेपलाञ्चोक रोशी–१ का सन्तोष स्याङ्तान र पनौती–५ का दिलिप खड्गी पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार ती बिचौलियाले लिखित तथा ट्रायल परीक्षामा असफल भएका सेवाग्राहीलाई यातायात कार्यालयका कर्मचारीसँग मिलेमतो गरी पास गराइदिने, लाइसेन्स प्रिन्ट, ब्लुबुक नवीकरणलगायत काम सहज तरिकाले गरिदिने भन्दै अतिरिक्त रकम लिने गरेको गुनासो आएको थियो।

बिचौलियाले दाबी गरेअनुसार यातायात कार्यालयका कर्मचारीको मिलेमतो छ कि छैन भन्ने विषयमा पनि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र भक्तपुर पठाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्