पञ्चकन्यामा अन्तरविद्यालय विज्ञान प्रदर्शनी र हाजिरीजवाफ, उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मानित



नुवाकट,पुस १२ । पञ्चकन्या गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिका स्तरीय अन्तर–विद्यालय माध्यमिक तहस्तरीय विज्ञान प्रदर्शनी तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। त्यस्तै  शैक्षिक सत्र २०८१ मा कक्षा १० र कक्षा १२ का विभिन्न परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मानसमेत गरिएको छ।

कार्यक्रम गाउँपालिका सामाजिक विकास समितिका संयोजक रामबाबु पराजुलीको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो।

विज्ञान प्रदर्शनी प्रतियोगितामा इन्द्राणी माध्यमिक विद्यालय प्रथम, पञ्चकन्या माध्यमिक विद्यालय द्वितीय, राष्ट्रिय माध्यमिक विद्यालय तृतीय र कुण्डला माध्यमिक विद्यालय चतुर्थ स्थान हासिल गर्न सफल भएका छन्। त्यसैगरी हाजिरी जवाफ प्रतियोगितातर्फ राष्ट्रिय माध्यमिक विद्यालय प्रथम, इन्द्राणी माध्यमिक विद्यालय द्वितीय, ब्रह्मेश्वर वेद विद्याश्रम तृतीय र उदयजाल्पादेवी माध्यमिक विद्यालय चतुर्थ भएका छन्।

कार्यक्रमले विद्यार्थीहरूमा वैज्ञानिक सोच, सिर्जनशीलता र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुगेको आयोजकको भनाइ छ। गाउँपालिकाले आगामी दिनमा पनि यस्ता शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्