उम्मेदवार सिफारिस विवादमा नेकपा नुवाकोट नेता खतिवडाको स्पष्टिकरण, राधिका तामाङको असन्तुष्टिप्रति पनि धारणा सार्वजनिक
नुवाकोट,पुस १२। संघीय निर्वाचन क्षेत्र उम्मेदवार सिफारिस प्रक्रियालाई लिएर उत्पन्न बहस र असन्तुष्टिका बीच नेपाली कम्युनिष्ट पार्टी नुवाकोटका नेता हिरानाथ खतिवडाले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका छन् । उनले पार्टीको उम्मेदवार सिफारिस कार्यविधि नुवाकोटले मात्र पालना गर्नुपर्ने हो कि अन्य जिल्लामा फरक मापदण्ड लागू हुने भन्ने प्रश्न उठ्दै आएको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
खतिवडाले सिन्धुपाल्चोकका युवराज दुलाल र चितवनकी रेणु दाहालको सर्वसम्मत सिफारिसलाई लिएर पार्टीभित्र उठेको प्रश्न बाध्यकारी परिस्थितिको उपज भएको दाबी गरेका छन् । उनका अनुसार ती जिल्लामा भएको सिफारिस पार्टीको कार्यविधि विपरीत होइन, बरु निर्वाचन अझै करिब २१ महिना बाँकी रहँदै सिफारिस गर्नुपर्ने अवस्थाले जन्माएको निर्णय हो ।
खतिवडाका अनुसार नुवाकोट–१ मा उम्मेदवार सिफारिस प्रक्रिया पूर्ण खुला, पारदर्शी र लोकतान्त्रिक ढंगले अघि बढाइएको थियो । केन्द्रीय सदस्यहरू सम्मिलित अधिकारप्राप्त कार्यदलको बैठकमै निवर्तमान सांसद हितबहादुर तामाङले सर्वसम्मत समर्थन प्राप्त भए सिफारिस स्वीकार गर्ने र आफूभन्दा बढी समर्थनसहित अरू अघि आए सहर्ष स्वीकार गर्ने स्पष्ट धारणा राखेका थिए ।
त्यही आधारमा इच्छुक बहालवाला नेताहरूलाई तयारीका लागि समय दिँदै ७२ घण्टापछि क्षेत्रीय भेला आयोजना गरिएको र सो भेलाले गत पुस ९ गते हितबहादुर तामाङलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको खतिवडाले बताएका छन् । त्यसपछि जिल्ला कार्यदलको बैठकमा हितबहादुरकै प्रस्तावमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नुवाकोट–१ बाट उम्मेदवार हुन आग्रह गर्ने निर्णयसमेत गरिएको स्पष्टिकरणमा उल्लेख छ ।
यही विषयसँग जोडेर नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा बागमती प्रदेशसभा सदस्य राधिका तामाङले भने कतिपय क्षेत्रमा पार्टीको उम्मेदवार सिफारिस कार्यविधि कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन् । उनले पार्टीले बनाएको निर्णय र कार्यविधि सबै क्षेत्रमा समान रूपमा लागू हुनुपर्नेमा जोड दिएकी थिइन् ।
नेतृ तामाङले पार्टी सञ्चालनलाई व्यवस्थित बनाउन गरिएका महत्वपूर्ण निर्णय कार्यान्वयन नभए पार्टी कमजोर हुने चेतावनी दिँदै पार्टी हित विपरीत काम नगर्न आग्रह गरेकी थिइन् । उम्मेदवार सिफारिसका लागि बनाइएको कार्यविधि एक ठाउँमा लागू हुने र अर्को ठाउँमा नहुने अवस्था स्वीकार्य नहुने उनको धारणा थियो ।
पार्टी कार्यविधिअनुसार प्रदेश तथा स्थानीय तहमा बहाल रहेका वा समानुपातिक सूचीमा रहेका नेताहरूलाई संघीय निर्वाचनका लागि सिफारिस गर्न नपाइने व्यवस्था छ । यही प्रावधानका कारण बलियो पकड हुँदाहुँदै पनि राधिका तामाङ संघीय निर्वाचनका लागि सिफारिसमा पर्न नसकेको जनाइएको छ ।
राधिका तामाङ २०७४ सालमा प्रदेशसभामा निर्वाचित भई उपसभामुखको जिम्मेवारीसमेत सम्हालिसकेकी नेतृ हुन् । २०७९ को निर्वाचनपछि भने उनी राजकीय पदमा पुगेकी छैनन् । नुवाकोट–१ बाट संघीय निर्वाचन लड्ने आकांक्षा राख्दै आए पनि पार्टी कार्यविधिले रोक लगाएपछि उनको असन्तुष्टि सार्वजनिक भएको हो ।

