रास्वपा–बालेन समूहबीचको निर्णायक वार्ता अनिश्चित



काठमाडौ,पुस १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको समूहबीच शनिबार हुने भनिएको निर्णायक वार्ता अनिश्चित बनेको छ। शुक्रबार रातिसम्म भएको छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव अघि सारेपछि सहमति जुट्न नसकेको स्रोतले जनाएको छ।

छलफलका क्रममा रास्वपाका सभापति रवि लामिछानेलाई नेतृत्वमा अघि बढाउने र भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई प्रस्ताव गर्ने विषयमा मोटामोटी सहमति भए पनि केन्द्रीय समिति र प्रतिनिधिसभा उम्मेदवारी छनोटमा आधा–आधा हिस्सा मागिएपछि वार्ता अड्किएको बताइएको छ। शक्ति बाँडफाँटको विषयमा स्पष्ट सहमति नजुट्दा शनिबार तय भएको निर्णायक वार्ता अन्योलमा परेको हो।

सहमति नबनेपछि बालेन शाहले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग परामर्श गरेका छन्। शनिबार बिहान पनि बालेन र घिसिङबीच भेट भए तापनि त्यसबाट कुनै ठोस प्रस्ताव बाहिर आएको छैन। रास्वपा पक्षले भने आज कुनै औपचारिक छलफल नभएको जनाउँदै, बालेन पक्षबाट स्पष्ट प्रस्ताव आएमा मात्र वार्तामा बस्ने जनाएको छ।

यसैबीच बालेन समूहले कुलमान घिसिङको भूमिकालाई केन्द्रमा राख्दै, रेशम चौधरी र सिके राउतलाई समेत समेटेर नयाँ राजनीतिक समझदारी बनाउने प्रस्ताव अघि सारेको बताइएको छ। निरन्तर छलफल र संवाद भए पनि अहिलेसम्म ठोस निष्कर्ष निस्किन सकेको छैन।

नयाँ शक्तिहरूबीचको सम्भावित एकताको विषयमा राजनीतिक वृत्तमा चासो बढिरहे पनि शक्ति बाँडफाँट र नेतृत्वको सवालमा सहमति नजुट्दा वार्ता लम्बिने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्