प्रधानमन्त्री कार्कीद्वारा बालुवाटारमा प्रमुख दलका शीर्ष नेतासँग छलफल
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ। छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्थ्यो।
शीर्ष नेताहरूलाई स्वागत गर्दै प्रधानमन्त्री कार्कीले बालुवाटार सबै दलको साझा घर भएको उल्लेख गर्नुभयो। आफू न्याय क्षेत्रबाट आएको व्यक्ति भए पनि राष्ट्रपतिबाट निर्वाचन गराउने कार्यादेश प्राप्त भएकाले सरकार निर्वाचनको तयारीमा जुटिरहेको उहाँको भनाइ थियो। उहाँले निर्वाचन जसरी पनि सफल पार्न सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, “मेरो निमन्त्रणालाई स्वीकार गरी यहाँहरू आउनुभएकोमा धन्यवाद। मैले यहाँहरूलाई बोलाउनुको उद्देश्य एउटै हो—यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै दल सहभागी हुनुपर्छ। अहिलेको वातावरण हेर्दा तपाईंहरू निर्वाचनका लागि तयार हुनुहुन्छ भन्ने देखिन्छ, यो स्वागतयोग्य कुरा हो।”
उहाँले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराइसकेको जानकारी दिँदै सुरक्षाकर्मीको मनोबल उच्च बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभयो। अब कुनै अलमल नगरी राष्ट्रको भविष्य, स्थिरता र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि निर्वाचन सफल पार्नुपर्नेमा उहाँले जोड दिनुभयो।
प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै त्यसैका लागि शीर्ष नेताहरूलाई बालुवाटारमा आमन्त्रण गरिएको स्पष्ट पार्नुभयो। छलफलमा सहभागी नेताहरूले पनि निर्वाचनको विषयमा आफ्ना धारणा राख्दै सहकार्यको आवश्यकता औँल्याएका थिए।

