नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चको भेलामा घिसिङ भन्छन् – अस्तित्व समाप्त पारेर एकता सम्भव छैन



काठमाडौं,पुस १२। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने स्पष्ट पार्नुभएको छ। उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले नयाँ राजनीतिक शक्तिहरूले आपसी सम्मान र अस्तित्वको स्वीकारोक्तिसहित एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

मन्त्री घिसिङले अहिलेको राजनीतिक परिवेशमा एकताका नाममा कसैलाई कमजोर पार्ने वा विस्थापित गर्ने सोच उपयुक्त नहुने बताउँदै सबै पक्षको भूमिकालाई सम्मान गर्दै सहकार्यको बाटो रोज्नुपर्नेमा जोड दिनुभयो। उहाँले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन समावेशी र सहकार्यमा आधारित राजनीति आवश्यक रहेको उल्लेख गर्नुभयो।

उज्यालो नेपाल पार्टीले देशभर संगठनात्मक संरचना विस्तार गरिरहेको जानकारी दिँदै मन्त्री घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई पार्टीले महत्वपूर्ण अवसरका रूपमा लिएको बताउनुभयो। उहाँका अनुसार उक्त निर्वाचनमार्फत नयाँ राजनीतिक शक्तिहरूले जनताको विश्वास जित्ने अवसर प्राप्त गर्नेछन्।

भेलामा सहभागी वक्ताहरूले पनि नयाँ वैकल्पिक राजनीतिक धारालाई सशक्त बनाउन एकता, सहकार्य र संगठन विस्तारमा जोड दिनुपर्ने बताएका थिए। कार्यक्रममा नुवाकोट तथा काठमाडौँमा रहेका उज्यालो नेपाल पार्टीका नेता–कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्