दुप्चेश्वर महादेव परिसरमा गणेश पण्डित स्मृति पार्क उद्घाटन, शालिक अनावरण सम्पन्न



नुवाकोट,पुस १२ । दुप्चेश्वर गाउँपालिका वडा नं ६ स्थित दुप्चेश्वर महादेव मन्दिर परिसरमा नवनिर्मित गणेश पण्डित स्मृति पार्कको उद्घाटन तथा स्वर्गीय गणेश पण्डितको शालिक अनावरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने दुप्चेश्वर क्षेत्रमै आयोजित उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा पूर्व पर्यटन मन्त्री हितबहादुर तामाङले पूर्व सांसद तथा समाजसेवी गणेश पण्डितको शालिक अनावरण गर्नुभएको हो। सो अवसरमा बोल्दै मन्त्री तामाङले गणेश पण्डित नुवाकोटको सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा अविस्मरणीय योगदान पुर्‍याउने व्यक्तित्व भएको उल्लेख गर्दै उहाँको स्मृति जगेर्ना गर्न स्मृति पार्क स्थापना गरिनु गौरवको विषय भएको बताउनुभयो।

स्वर्गीय गणेश पण्डित २००३ साल वैशाख ३० गते नुवाकोटको शिखरवेसीमा जन्मिनु भएको थियो। स्नातक तहसम्म अध्ययन गर्नुभएका पण्डित शिक्षाप्रेमी तथा समाजसेवी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। बाम–लोकतान्त्रिक आन्दोलनका अगुवा नेता तथा पूर्व सांसदसमेत रहनुभएका उहाँले नुवाकोट जिल्लाको ऐतिहासिक र धार्मिक सम्पदा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। विशेषगरी दुप्चेश्वर महादेव क्षेत्रको संरक्षण र प्रवर्द्धनमा उहाँको योगदान अतुलनीय मानिन्छ।

दुप्चेश्वर प्राकृतिक शिवलिङ्गको संरक्षण, प्रकृति र संस्कृतिको अटुट सम्बन्धलाई जीवन्त राख्ने अभियान तथा सूर्यमती (तादी) नदीको प्राकृतिक प्रवाह अक्षुण्य राख्न उहाँले जीवनपर्यन्त संघर्ष गर्नुभएको स्मरणीय छ । २०७५ साल फागुन २१ गते उहाँको स्वर्गारोहण भएको थियो।

दुप्चेश्वर गाउँपालिकाको संयोजन तथा व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरूले गणेश पण्डितको विचार, योगदान र संघर्ष भावी पुस्ताका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै स्मृति पार्कले उहाँको जीवन र योगदानलाई दीर्घकालसम्म जीवित राख्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्