अन्तिम मतदाता नामावली सार्वजनिक, सवा नौ लाख मतदाता थपिए



काठमाडौँ,पुस १२ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगका अनुसार अघिल्लो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाता संख्या उल्लेख्य रूपमा बढेको छ।

गत निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यसपटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका छन्। प्रकाशित अन्तिम मतदाता नामावलीअनुसार देशभर कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। जसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० जना रहेका निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।

मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम अन्तिम मतदाता नामावली प्रकाशित गरिएको आयोगले जनाएको छ। मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसार प्रक्रिया पूरा गरी आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणसमेत समावेश गरी नामावली अद्यावधिक गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो।

यसैगरी, आसन्न निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ। प्रकाशित अन्तिम मतदाता नामावली आयोगको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्