‘स्व. मनोज श्रेष्ठ स्मृति कप’ महिला भलिबलको उपाधि धादिङ टिम ‘ए’ लाई



धादिङ, पुस १२। नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेशीमा सम्पन्न ‘स्व. मनोज श्रेष्ठ स्मृति कप २०८२’ बागमती प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि धादिङ टिम ‘ए’ ले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा सिन्धुपाल्चोकलाई ३–० को सोझो सेटमा पराजित गर्दै धादिङ टिम ‘ए’ ले उपाधि हात पारेको हो। फाइनल खेलमा धादिङले सिन्धुपाल्चोकलाई २५–१०, २५–६ र २५–७ को सेटमा पराजित गरेको थियो। उपाधिसँगै धादिङ टिम ‘ए’ ले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता सिन्धुपाल्चोकले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने तेस्रो स्थानमा रहेको रामेछापले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

तेस्रो स्थानका लागि भएको खेलमा रामेछापले नुवाकोटलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको थियो। रामेछापले नुवाकोटलाई २३–२५, २५–१०, २३–२५, २५–८ र १९–१७ को सेटमा हराएको हो।प्रतियोगितामा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरू पनि सम्मानित भएका छन्। उत्कृष्ट खेलाडी धादिङ टिम ‘ए’ की रेविका लामा तामाङ घोषित भइन्। उत्कृष्ट स्पाइकर सलिना गुरुङ, उत्कृष्ट सेटर भावना तामाङ, उत्कृष्ट डिफेन्डर जमुना गुरुङ, उत्कृष्ट ब्लकर वाल्मिका आचार्य (सबै धादिङ टिम ‘ए’) घोषित भए। उत्कृष्ट सर्भर रामेछापकी एलिसा श्रेष्ठ र उत्कृष्ट कोच धादिङका बिरु लामा घोषित भए। उत्कृष्ट खेलाडी रेविकाले नगद ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् भने अन्य विधागत उत्कृष्टले समान नगद २ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन्।धादिङ जिल्ला भलिबल संघको आयोजनामा पुस ९ गतेदेखि सुरु भएको प्रतियोगितामा बागमती प्रदेशका ८ जिल्लाबाट ९ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा धादिङका दुई टिमसहित नुवाकोट, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप र सिन्धुपाल्चोकका टिम सहभागी थिए।

प्रतियोगिताको अवसरमा धादिङ जिल्ला भलिबल संघले न्यु डायमन्ड क्लबका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राई, काभा यु–१९ च्याम्पियनसिप खेलेका भावना तामाङ र रेविका लामा तामाङलाई नगद र प्रशंसापत्रसहित सम्मान गरेको छ। समापन समारोहका प्रमुख अतिथि नीलकण्ठ नगरपालिका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुंगानाले धादिङ महिला भलिबलको यो ऐतिहासिक उपलब्धिले जिल्लाको खेलकुद पहिचानलाई अझ सुदृढ बनाएको बताउनुभयो। उहाँले आगामी दिनमा राष्ट्रिय स्तरका भलिबल प्रतियोगिता धादिङमा आयोजना गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ (तिलक) ले यस्ता प्रतियोगिताले नयाँ प्रतिभा उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेलाडी, प्रशिक्षक र स्थानीय तहको सहकार्यबाट मात्रै दीर्घकालीन सफलता सम्भव हुने धारणा राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्