रवि–बालेनबीच सहमति : रास्वपाको नेतृत्व रविकै हातमा, प्रधानमन्त्रीको उम्मेदवार बालेन



काठमाडौँ,पुस १३। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नै रहने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ। रवि लामिछाने र बालेन शाहबीच भएको सहमतिले वैकल्पिक राजनीतिमा नयाँ मोड आएको छ।

सहमतिअनुसार, नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध थालेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा सहिद परिवारका मागलाई यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, समुन्नति र सामाजिक न्यायलाई राष्ट्रिय उद्देश्यका रूपमा अघि बढाउँदै गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जग बसाल्ने लक्ष्य लिइएको छ। सहमतिमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्र इमान्दारीपूर्वक कार्यान्वयन गर्ने उल्लेख छ।

दुवै पक्षबीच बृहत् एकता भएपछि स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा बीच भागमा सेतो रङ्गको गोलाकार र त्यसको केन्द्रमा निलो रङ्गको घण्टी रहनेछ भने चुनाव चिन्ह पनि ‘घण्टी’ नै कायम हुनेछ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमतिमा उल्लेख गरिएको छ।

संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार बनाइने जनाइएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह रहने र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने सहमतिमा स्पष्ट गरिएको छ।

सहमति कार्यान्वयनका लागि आमनिर्वाचनलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ। साथै, लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई ‘घण्टी’ चुनाव चिन्हमा गोलबद्ध हुन आह्वान गर्ने सहमतिमा उल्लेख छ।

यो सहमतिलाई वैकल्पिक राजनीतिमा नयाँ एकता र सम्भावनाको संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्