मितेरी पुल पुनर्निर्माण सम्पन्न, रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा
रसुवा,पुस १३ । गत असार २४ गते आएको बाढीका कारण क्षतिग्रस्त बनेको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको मितेरी पुल पुनर्निर्माण सम्पन्न भएसँगै नेपाल–चीन सीमावर्ती रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आउने भएको छ।
चिनियाँ पक्षले शनिबार सार्वजनिक गरेको सूचनाअनुसार आइतबारदेखि नाका औपचारिक रूपमा खुला हुने जनाइएको हो। प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार प्रारम्भिक चरणमा सीमापार ढुवानीमा संलग्न नेपाली सवारी चालकहरूलाई मात्र चीनतर्फ प्रवेश अनुमति दिइनेछ। चीन प्रवेशका लागि यसअघि निवेदन दिएका सवारी चालकलाई भोलिदेखि प्रवेश अनुमति दिइने जानकारी चिनियाँ पक्षबाट प्राप्त भएको उनले बताए।
हालका लागि नाका खुले पनि सबै प्रकारका सवारी साधन सञ्चालन हुने छैनन्। आगामी जनवरी १, २०२६ देखि भने एकतर्फी पालैपालो प्रणालीमा सवारी आवागमन सञ्चालन गरिनेछ। सोही मितिदेखि मालवाहक सवारी साधन र व्यापारीलाई समेत नाकाबाट आवागमनको अनुमति दिइने प्रमुख जिल्ला अधिकारी पन्थीले जानकारी दिए। चिनियाँ पक्षद्वारा जारी सूचनामा भोलिदेखि सीमापार ढुवानीमा संलग्न यात्रुहरूलाई प्रवेश दिन सुरु गरिने उल्लेख छ। साथै, सबै विदेशी व्यापारिक प्रतिष्ठानहरूले समयमै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने र नेपाली चालक तथा कर्मचारीहरूले प्रवेशअघि नै आवश्यक तयारी, सवारी साधन लोड तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको छ।
आगामी जनवरी १ देखि भन्सार कार्यालयले भित्रिने र बाहिरिने सवारी साधनको निरीक्षणपछि मात्र आवागमनको अनुमति दिनेछ। यस अवधिमा एकतर्फी पालैपालो आवागमन प्रणाली कडाइका साथ लागू गरिने चिनियाँ पक्षको भनाइ छ।
यसैबीच, जी–२१६ सीमा क्षेत्रमा सडक कालोपत्रेको काम जारी रहेकाले जनवरी १ देखि जनवरी ८ सम्म आधा मार्ग मात्र सीमापार आवागमनका लागि प्रयोग गरिनेछ। सो अवधिमा चिनियाँ समयअनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आवागमन खुला रहनेछ भने बाँकी समयमा दुवै तर्फबाट सवारी आवागमन नियन्त्रण गरिने जनाइएको छ।
जनवरी ८ पछि भने चिनियाँ समयअनुसार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सवारी साधन प्रवेशका लागि खुला रहनेछ, जुन सामान्य भन्सार समयभन्दा एक घण्टा बढी हो। त्यसपछि दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म अस्थायी रूपमा आवागमन सञ्चालन गरिने जानकारी पनि चिनियाँ पक्षले दिएको छ।

