नुवाकोट तादीमा राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, अमर ज्योति मावि सर्वोत्कृष्ट
नुवाकोट,पुस १३ । तादी गाउँपालिकाको आयोजनामा सञ्चालन भएको तादी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शनिबार सम्पन्न भएको छ। तादी गाउँपालिकामा गठित खेलकुद विकास समितिका संयोजक तथा वडा अध्यक्ष सोनाम तामाङको अध्यक्षतामा सम्पन्न समापन समारोहमा गाउँपालिका अध्यक्ष सन्तमान तामाङ प्रमुख अतिथि रहनुभएको थियो भने उपाध्यक्ष सन्जु प्याकुरेल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
समारोहमा प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतम, वडा अध्यक्ष अश्मिन कुमार पाण्डे, बरिष्ठ विद्यालय निरीक्षक सन्तोष खनाल, कार्यपालिका सदस्य, वडा सदस्य, सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, गाउँपालिका कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, खेलप्रेमी, समाजसेवी, अग्रज नागरिक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घोषण दीपक प्रसाद सिटौलाले गर्नुभएको थियो।
यही पुस १० गतेदेखि १२ गतेसम्म तीन दिन सञ्चालन भएको प्रतियोगितामा तादी गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत छात्र–छात्राहरूले भलिबल, १००, २००, ४०० र ८०० मिटर दौड, १×४०० मिटर रिले, ज्याभलिन थ्रो, सटपुट, हाइजम्प, लङजम्प र त्रिपल जम्प लगायत विभिन्न एथलेटिक्स विधामा प्रतिस्पर्धा गरेका थिए।
विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छात्र तथा छात्रा विद्यार्थीलाई पदक प्रदान गरिएको थियो भने भलिबल र एथलेटिक्स विधामा उत्कृष्ट हुने विद्यालयहरूलाई ट्रफी प्रदान गरियो। सबै विधामा सर्वोत्कृष्ट प्रदर्शन गर्दै अमर ज्योति माध्यमिक प्राविधिक विद्यालयले राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको छ। प्रतियोगितामा सुन्दरा माध्यमिक विद्यालय, तादी–४ ले द्वितीय र सुन्दरादेवी माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेका थिए।
समापन समारोहमा सहभागी सम्पूर्ण विद्यार्थी, विद्यालय परिवार र आयोजकप्रति बधाई तथा शुभकामना व्यक्त गर्दै खेलकुदमार्फत विद्यार्थीको शारीरिक, मानसिक र अनुशासनात्मक विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो।

