तराईमा हुस्सु–कुहिरोको चपेटा, पहाड–हिमालमा आंशिक बदली
काठमाडौँ,पुस १३। देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेको छ भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने देखिएको छ। यस्तै, आज राति पनि तराई भूभागका अधिकांश स्थानमा हुस्सु कायमै रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराई क्षेत्रमा देखिएको हुस्सु–कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ।

