मकवानपुरमा सवारी दुर्घटनाको शृंखला : एक जनाको मृत्यु, पाँच घाइते
मकवानपुर,पुस १३ । मकवानपुर जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा बाटो क्रस गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदल यात्रीको उपचारका क्रममा मृत्यु भएको हो।
मंगलबार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मनहरी गाउँपालिका–३ का ७० वर्षीय रघुनाथ पौडेलको नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा उपचार भइरहेको अवस्थामा शनिबार राति मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।
नेवारपानीतर्फबाट बस्तीपुर जाँदै गरेको बा.प्र.०३–००५ प ६४२९ नम्बरको मोटरसाइकलले पौडेललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१९ का २७ वर्षीय विजय घलान र पछाडि सवार १८ वर्षीय रोशन गोले पनि घाइते भएका छन्। उनीहरूको सिएमसी चुरेहिल अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, मकवानपुरगढी गाउँपालिका–६ भालुखोलास्थित भित्री सडक खण्डमा प्र.३–००१४ प ५६६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खोल्सामा खस्दा दुई जना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी–३ मक्रान्चुलीका ३१ वर्षीय बुद्ध लामा र पछाडि सवार मकवानपुरगढी–८ बुढिचौरका २५ वर्षीय देबेन्द्र बोम्जन घाइते भएका हुन्। लामा पुरानो मेडिकल कलेज भरतपुर र बोम्जन सन्चो अस्पताल हेटौँडामा उपचाररत छन्।
त्यसैगरी, मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१६ सिपाली चोकमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्। हटियातर्फबाट ठुलोदमारतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१क ०१४३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प ३१९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हेटौँडा–१७ का ४२ वर्षीय मानबहादुर मानन्धर गम्भीर घाइते भएका हुन्।
दुर्घटनापछि फरार रहेका टिपर चालक मकवानपुरगढी–७ सुकौराका अन्दाजी ३५ वर्षीय तिलकबहादुर पाख्रिनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ। घाइते मानन्धरलाई हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ र उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

