रुखबाट खस्दा ८० वर्षीय वृद्धको दुःखद निधन



पाँचथर,पुस १३ । पाँचथरको फिदिम नगरपालिका–४ मा रुखबाट खस्दा एक वृद्धको निधन भएको छ। ज्यान गुमाउनेमा फिदिम–४ थापाटार निवासी ८० वर्षीय चुडामणि थापा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रहरीका अनुसार शनिबार बिहान घाँस काट्न घरबाट निस्कनुभएका थापा साँझसम्म पनि घर नफर्किएपछि आफन्त र छिमेकीले खोजतलास गरेका थिए। खोजीका क्रममा उहाँलाई मृत अवस्थामा फेला पारिएको थियो।

घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले स्थलगत मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाएको छ। करिब २५ फिट अग्लो टाँकीको रुखमा घाँस काट्ने क्रममा सन्तुलन गुमाएर रुखबाट खस्दा थापाको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ।

घटनापछि स्थानीय क्षेत्रमा शोकको वातावरण छ भने प्रहरीले घटनाबारे थप आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्