बिदाई भए एक उत्कृष्ट हेडसर सरोजकुमार पाण्डे, चार दशकमा छोडे अमिट छाप



काठमाडौं,पुस १४ । नुवाकोटको शिवपुरी ८,थानापतिमा जन्मिनुभएका सरोज कुमार पाण्डे आइतबार औपचारिक रूपमा शिक्षण पेशाबाट अवकाश लिनुभएको छ ।

राजधानी काठमाडौंको टोखास्थित तिलिङ्गाटार माध्यमिक विद्यालयलाई एक उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा स्थापित गर्न सफल पाण्डेलाई विद्यालयले सम्मानसाथ बाजागाजासहित बिदाइ गरेको हो ।

चार दशकभन्दा बढी समय शिक्षण पेशामा बिताउनुभएका पाण्डे गत मंसिर १० गतेबाट सेवाबाट अवकाश लिनुभएको थियो । उहाँलाई विद्यालयको ६४औँ वार्षिकोत्सवको अवसर पारेर विशेष सम्मान गर्दै विदाइ गरिएको विद्यालयले जनाएको छ ।

पाण्डेको नेतृत्वकालमा तिलिङ्गाटार माध्यमिक विद्यालय काठमाडौं जिल्लाका उत्कृष्ट १० सामुदायिक विद्यालयभित्र पर्न सफल भएको थियो । शैक्षिक गुणस्तर सुधार, व्यवस्थापन सुदृढीकरण र विद्यार्थीमुखी शिक्षण पद्धतिमा उहाँले खेलेको भूमिका विद्यालय समुदायले स्मरणीय उपलब्धिका रूपमा लिएको छ ।

विद्यालय परिवार, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूले पाण्डेको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँको आगामी जीवन सफल र सुखमय रहोस् भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्