राष्ट्रिय सभा सदस्य उम्मेदवारको खर्च सीमा तोकियो, अधिकतम ३ लाख ५० हजार मात्र खर्च गर्न पाइने



काठमाडौँ,पुस १४ — निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ। आयोगका अनुसार राष्ट्रिय सभा सदस्यका उम्मेदवारले अधिकतम तीन लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउनेछन्।

आयोगले विभिन्न शीर्षकअनुसार खर्चको स्पष्ट सीमा तोकेको छ। मतदाता नामावली खरिदका लागि एक हजार रुपैयाँ, सवारी साधनमा ७० हजार, सवारी इन्धनमा १० हजार र प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० रुपैयाँ खर्च गर्न पाइनेछ। यसैगरी ढुवानीमा १० हजार, गोष्ठी तथा अन्तरक्रियामा एक लाख रुपैयाँ खर्च गर्न सकिने व्यवस्था गरिएको छ।

अन्य प्रचारप्रसार, छापा तथा विद्युतीय माध्यममा १४ हजार ५०० रुपैयाँ, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालनमा ३० हजार र विविध शीर्षकमा ३० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको आयोगले जनाएको छ।

निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेदवारले बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातामार्फत खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी सोही अनुसार खर्च गर्नुपर्ने आयोगको निर्देशन छ।

निर्वाचन सम्पन्न भएपछि उम्मेदवारले आफ्नो खर्च विवरण सार्वजनिक गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ। उल्लेखनीय छ, राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ ११ गते हुने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्