हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु, परम्परागत खानासँगै पर्यटन प्रवर्द्धनमा जोड



मकवानपुर,पुस १४ । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु भएको छ। हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्र चौरको पूर्वतर्फको सडकमा आयोजित चार दिने खाना महोत्सवको आइतबार हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख लामाले सडक खाना महोत्सवले परम्परागत खानाको संरक्षण गर्नुका साथै स्थानीय संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। यस्ता कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।

मकवानपुर होटल एसोसियसनका अध्यक्ष दिलिशगोविन्द जोशीले अङ्ग्रेजी नयाँ वर्षको स्वागतसँगै “सडकमै जाउँ, सडकमै खाऊँ, सडकमै रमाऔँ” भन्ने नाराका साथ सडक खाना महोत्सवको १२ औँ संस्करण आयोजना गरिएको जानकारी दिनुभयो। महोत्सवले स्थानीय व्यवसाय प्रवर्द्धनसँगै खानाको विविधता चिनाउने लक्ष्य लिएको उहाँले बताउनुभयो।

कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका केन्द्रीय सदस्य दिनेश चुके, हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देल, मकवानपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष उज्ज्वल चौलागाईं, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुरगढी पर्यटन विकास समितिका अध्यक्ष केदार न्यौपानेलगायतले पर्यटन प्रवर्द्धनका लागि तीनै तहका सरकारको स्पष्ट र दीर्घकालीन नीति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै खानाका पारखीलाई एकै स्थानमा विभिन्न परिकारको स्वाद लिन सक्ने अवसर प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सवमा विभिन्न समुदायका परम्परागत खाना तथा रैथाने बालीबाट तयार गरिएका परिकारका स्टलहरू राखिएका छन्।

६० वटा स्टल रहेको महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति सहित विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत सञ्चालन हुने आयोजकले जनाएको

प्रतिक्रिया दिनुहोस्