काठमाडौँको मनोहर माविमा भ्रष्टाचार प्रकरण : तत्कालीन प्राचार्य र शिक्षिकाविरुद्ध मुद्दा दायर



काठमाडौँ,पुस १४ । मनोहर माध्यमिक विद्यालय, काठमाडौँका तत्कालीन प्रधानाध्यापक (प्राचार्य) वासुदेव अधिकारी र शिक्षिका कल्पना पनेरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार विद्यालयको दरबन्दीमा शिक्षक नियुक्ति गर्दा प्रचलित कानुनविपरीत उमेरले ४० वर्ष नाघिसकेकी कल्पना पनेरुलाई नियुक्ति गरिएको पाइएको हो। आयोगको अनुसन्धानअनुसार पनेरुले २०६० मङ्सिर ११ गतेदेखि प्राथमिक तहको अस्थायी शिक्षक पदमा नियुक्ति लिएकी थिइन्। पछि जिल्ला शिक्षा कार्यालय, काठमाडौँको २०६९ मङ्सिर १ गतेको पत्रअनुसार श्री रत्नराज्य माध्यमिक विद्यालय, रामकोटबाट श्री मनोहर माध्यमिक विद्यालय, गोंगबुमा काज सरुवा गरिएको देखिएको छ।

अस्थायी शिक्षकलाई यसरी काज सरुवा गर्नु सामान्य अभ्यास नभएको र सो प्रक्रियामा शिक्षिका पनेरु तथा काज सरुवाका लागि सहमति दिने तत्कालीन प्रधानाध्यापक अधिकारीको प्रत्यक्ष संलग्नता रहेको आयोगको ठहर छ।

आयोगका अनुसार पनेरुलाई २०७१ साउन २८ गतेदेखि ‘प्लस टु’ तहको अनुदान दरबन्दीमा नियुक्ति दिने निर्णयसमेत नियमविपरीत गरिएको थियो। उक्त निर्णयमा पछिबाट सुटुक्क थपघट गरिएको, टिपेक्स प्रयोग गरी सच्याइएको तथा केरमेट हेरफेर गरिएको तथ्य सक्कल निर्णय पुस्तकबाट खुलेको आयोगको विज्ञप्तिमा उल्लेख छ।उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुरमा सजाय मागदाबी गर्दै आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्