इराक जाने बाटो खुल्यो : रेसिडेन्सी कार्ड भएका नेपालीले अब नेपालबाटै श्रम स्वीकृति पाउने



काठमाडौं,पुस १४ । वैदेशिक रोजगारीका लागि इराकमा वैध रूपमा कार्यरत रही ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका नेपाली श्रमिकले अब नेपालबाटै श्रम स्वीकृति लिएर पुनः इराक जान पाउने भएका छन्।मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले इराकको आधिकारिक भिसा र रेसिडेन्सी कार्ड भएका श्रमिकलाई आवश्यक प्रक्रिया पूरा गरेपछि श्रम स्वीकृति दिने निर्णय गरेसँगै लामो समयदेखि रोकिएको बाटो खुलेको हो।

यसअघि इराक जोखिमयुक्त मुलुकको सूचीमा रहेकाले त्यहाँबाट फर्किएका श्रमिकले श्रम स्वीकृति पाउन सकेका थिएनन्। नयाँ निर्णयले विशेषगरी इराकमा वैध रूपमा काम गरेर बिदामा नेपाल आएका वा पुनः फर्कन चाहने श्रमिकलाई प्रत्यक्ष राहत पुग्ने श्रम क्षेत्रका जानकारहरूको भनाइ छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार इराकमा कानुनी रूपमा कार्यरत रहेकालाई नेपालकै कानुनअनुसार वैध बनाउने उद्देश्यले यो निर्णय गरिएको हो। तर, नयाँ श्रमिकलाई इराक पठाउने गरी भने श्रम स्वीकृति खुला गरिएको छैन।गैरआवासीय नेपाली सङ्घ (एनआरएन) इराकका अनुसार हाल इराकमा करिब ३० हजार नेपाली श्रमिक कार्यरत छन्। श्रम स्वीकृति नपाउँदा नेपाल आउनसमेत डराइरहेका श्रमिकका लागि यो निर्णयले रोजगारी जोगाउन र अवैध बाटो प्रयोग गर्ने बाध्यता कम गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्