छ महिनापछि खुल्यो रसुवागढी नाका, नेपाल–चीन व्यापारिक आवागमन फेरि सक्रिय



रसुवा,पुस १४ । करिब छ महिना ठप्प रहेको नेपाल–चीन सीमावर्ती रसुवागढी नाका आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। गत असार २४ गते आएको बाढीले गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित मितेरी पुलमा क्षति पुगेपछि बन्द भएको नाका पुलको पुनर्निर्माण सम्पन्न भएसँगै सञ्चालनमा आएको हो।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार सीमापार ढुवानीमा संलग्न नेपाली ट्रक चालकहरू बिहान ७ बजेदेखि केरुङतर्फ आवागमन गर्न थालेका छन्। ल्हेन्द्रे खोलामा निर्माण गरिएको नयाँ बेलिब्रिजको प्राविधिक परीक्षण सफल भएपछि पुस १७ गतेदेखि नाका खोल्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो।

रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले मितेरी पुलको स्थानमा नयाँ बेलिब्रिज निर्माण भइसकेको र आइतबारदेखि मानिसको आवतजावत सुरु भएको बताउनुभयो। यही पुस १७ गतेदेखि मालवाहक सवारीसाधन तथा व्यापारीलाई समेत नाकाबाट आवागमनको अनुमति दिइनेछ।

चिनियाँ पक्षले जारी गरेको सूचनाअनुसार सीमापार ढुवानीमा संलग्न यात्रुहरूलाई प्रवेश दिन थालिएको छ। साथै विदेशी व्यापारिक प्रतिष्ठानले सम्बन्धित निकायलाई समयमै जानकारी गराउनुपर्ने र चालक तथा कर्मचारीले आवश्यक कागजी प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको छ।

यसैबीच, जी–२१६ सीमाक्षेत्रमा सडक कालोपत्रे जारी रहेकाले जनवरी १ देखि ८ सम्म आधा मार्गबाट मात्र आवागमन हुनेछ। सो अवधिमा सीमित समयमै सवारी सञ्चालन गरिनेछ। सडक आयोजनाका प्रमुख ई. कृष्णनाथ ओझाका अनुसार हाल स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको खण्डमा एक लेनबाट मात्र सवारी सञ्चालन सम्भव छ।

२०७६ सालमा सञ्चालनमा आएको मितेरी पुल असारको बाढीले बगाएपछि नेपाल–चीन सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो। नाका पुनः सञ्चालनसँगै व्यापार, ढुवानी र आवागमनले गति लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्