कांग्रेसमा एकताको सन्देश : निष्कासन र निलम्बन फुकुवा, सबै कारबाही माफी



काठमाडौं,पुस १४ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निष्कासन, निलम्बन तथा पार्टी विधानअनुसार स्वतः कारबाहीमा परेका नेता–कार्यकर्ताको बाँकी अवधि माफी मिनाहा गरेको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार परिपत्र जारी गर्दै सबै तहका पार्टी कमिटीलाई कारबाही फुकुवा भएको जानकारी दिनुभएको हो।

केन्द्रीय कार्यसम्पादन समितिको पुस १२ गते बसेको बैठकले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र बृहत् एकता कायम गर्न सबै प्रकारका कारबाही मिनाहा गर्ने निर्णय गरेको थियो। यससँगै विगतका निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, प्रस्तावक–समर्थक बन्ने वा असहयोग गर्नेहरूका क्रियाशील सदस्यता निरन्तरता र नवीकरण हुने जनाइएको छ।

यसैबीच कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तयार गर्ने विषयमा छलफल भइरहेको छ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार ११० जनाको समानुपातिक उम्मेदवार सूची सोमबार निर्वाचन आयोगमा बुझाइनेछ। उहाँले यसपटक समानुपातिकबाट सांसद भएका नेताहरू नदोहोरिने गरी सूची तयार गरिने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्