आज तमु ल्होसार : गुरुङ समुदायले मनाउँदै नयाँ वर्ष, देशभर उत्सवको माहोल



काठमाडौँ, पुस १५ । गुरुङ समुदायले आज मंगलबार आफ्नो नयाँ वर्षका रूपमा तमु ल्होसार पर्व हर्षोल्लासका साथ मनाउँदै छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले तमु ल्होसारलाई नयाँ वर्षको सुरुआतका रूपमा लिने गरिन्छ।

गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। सूर्यको ताप सबैभन्दा पहिले यी क्षेत्रहरूमा पर्ने विश्वासका आधारमा पुस १५ गते तमु ल्होसार मनाउने परम्परा रहेको छ।

पुस १५ को रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि दिन लम्बिँदै जाने भएकाले पनि यस पर्वलाई उज्यालो, नयाँ आशा र समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ। यही क्रमअनुसार तामाङ र शेर्पा समुदायले भने क्रमशः माघ र फागुनमा ल्होसार मनाउने प्रचलन छ।

तमु ल्होसारका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश व्यक्त गर्दै सामाजिक सद्भाव, संस्कृति संरक्षण र समृद्धिको कामना गरेका छन्। देश तथा विदेशमा रहेका गुरुङ समुदायले परम्परागत भेषभूषा, सांस्कृतिक नृत्य, पूजा–आराधना र शुभकामना आदान–प्रदान गर्दै तमु ल्होसार मनाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्