विदुर–म्यागङ जोड्ने सडक कालोपत्रे हुँदै, पूर्वमुख्यमन्त्री लामा र नगरप्रमुख श्रेष्ठद्वारा निरीक्षण
नुवाकोट, पुस १५ । विदुर नगरपालिका वडा नम्बर ८ राइसिङबाट वडा नम्बर १३ हर्कपुर हुँदै म्यागङ गाउँपालिकाको गोगनेसम्म पुग्ने सडकको स्तरउन्नति तथा कालोपत्रे (पिच) सहितको सडक विस्तार कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।
जारी निर्माण कार्यको बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले संयुक्त रूपमा स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।
पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का लगाई सञ्चालन भइरहेको उक्त सडक विस्तार योजनाको निरीक्षणका क्रममा सम्बन्धित वडाका वडाध्यक्षहरू, जनप्रतिनिधि, निर्माण व्यवसायीका प्रतिनिधि, स्थानीय लाभग्राही तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
स्थलगत निरीक्षणका क्रममा जनप्रतिनिधिहरूले सडक विस्तार तथा कालोपत्रेपछि विदुर नगरपालिका र म्यागङ गाउँपालिकाबीचको आवागमन सहज हुने, स्थानीय उत्पादनको बजार पहुँच विस्तार हुने र समग्र क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।
उक्त सडक योजना समयमै सम्पन्न गर्न निर्माण पक्षलाई गुणस्तरमा विशेष ध्यान दिन निर्देशन दिइएको छ भने स्थानीयवासीले लामो समयदेखिको माग पूरा हुन लागेको भन्दै खुशी व्यक्त गरेका छन् ।

