प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारको खर्च सीमा तोकियो
काठमाडौं,पुस १५ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ ।निर्वाचन आयोगले भौगोलिक अवस्थालाई आधार मानेर सुगम र दुर्गम जिल्लाका लागि फरक–फरक खर्च सीमा निर्धारण गरेको हो ।
आयोगका अनुसार काठमाडौँका पाँच निर्वाचन क्षेत्र—क्षेत्र नम्बर १, ३, ६, ७ र ८ का उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । यस्तै, १७ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारले २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकिएको छ ।
त्यसैगरी, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँ, ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँ र २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यो सीमा निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनका लागि निर्धारण गरिएको जानकारी दिनुभयो ।
उम्मेदवारले निर्वाचन खर्च गर्न बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्ने र सबै खर्च सोही खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, खर्च व्यवस्थापनका लागि उम्मेदवारले जिम्मेवार अधिकारी तोकी नाम, ठेगाना र विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ ।
निर्वाचन आयोगले तोकेको खर्च सीमा ननाघी खर्च गर्न र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनबमोजिम निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

