कांग्रेसको समानुपातिक सूची टुंगो, आङ्देम्बे पहिलो नम्बरमा, दोस्रोमा केसी
काठमाडौँ,पुस १५। लामो समयको आन्तरिक छलफल र रस्साकस्सीपछि नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची अन्ततः टुंगो लगाएको छ। रातभर चलेको प्रयासपछि कांग्रेस नेताहरू बिहान करिब ४ बजे निर्वाचन आयोग पुगे पनि पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरपछि मात्रै सूची औपचारिक रूपमा बुझाइने भएको छ।
कांग्रेसले तयार पारेको समानुपातिक बन्दसूचीमा पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नाम पहिलो नम्बरमा राखिएको छ।समानुपातिक सूचीमा पार्टी पदाधिकारीतर्फबाट आङ्देम्बे मात्रै समावेश भएका छन्। आङ्देम्बे २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए भने २०७४ र २०७९ सालको निर्वाचनमा पराजित भएका थिए।
यसैगरी कांग्रेसले वरिष्ठ नेता अर्जुननरसिंह केसीको नाम समानुपातिक बन्दसूचीको दोस्रो नम्बरमा राखेको छ। केसी २०७९ सालको निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन् र नुवाकोटबाट हालसम्म नौ पटक निर्वाचन लडिसकेका अनुभवी नेता हुन्। केसीको नाम समावेश गर्ने विषयमा पार्टीभित्र विवाद भए पनि अन्ततः सूचीमा समेटिएको नेताहरूले जनाएका छन्।
कांग्रेसले यसपटक पनि समानुपातिक सूचीमा ६०–४० को भागबन्डा कायम गरेको छ। जसअनुसार संस्थापन पक्षले ६० प्रतिशत र इतर पक्षले ४० प्रतिशत हिस्सा लिएको छ। सभापति देउवाको हस्ताक्षरसहित सूची आजै निर्वाचन आयोगमा बुझाइने तयारी भइरहेको पार्टी स्रोतले जनाएको छ।

