जेनजी अभियन्ता सुदन गुरुङको भूमिकाको बालेन साहद्वारा खुलेर प्रशंसा



काठमाडौँ,पुस १५ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी र आफूबीच सहकार्य गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै जेनजी आन्दोलनका अगुवा सुदन गुरुङको खुलेर प्रशंसा गर्नुभएको छ।

सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङसँगको तस्बिर सार्वजनिक गर्दै बालेनले देश निर्माणको कुरा गर्ने धेरै भए पनि त्यसका लागि सक्रिय रूपमा पहल गर्ने व्यक्ति कम हुने उल्लेख गर्नुभएको छ।बालेनले लेख्नुभएको छ, “देश बनाउनु पर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ भन्ने नै महत्त्वपूर्ण हुन्छ। बाबु सुदन गुरुङज्यूले जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन।”

उनको भनाइले पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउन जेनजी अभियन्ताहरूको सक्रिय भूमिकालाई थप उजागर गरेको छ। राजनीतिक सहकार्य र परिवर्तनको प्रयासमा सुदन गुरुङले खेलेको भूमिकाले नयाँ पुस्ताको नेतृत्व र सहभागितालाई थप बल पुगेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्