तमू ल्होसार : गुरुङ समुदायले भव्य रूपमा नयाँ वर्ष स्वागत
काठमाडौँ,पुस १५ । गुरुङ समुदायले नयाँ वर्षको सुरुवातका रूपमा मंगलबार ‘तमू ल्होसार’ पर्व हर्षोल्लासपूर्वक मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमू ल्होसार भनिन्छ । पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गर्ने यो पर्व गुरुङ समुदायको प्रमुख सांस्कृतिक चाड हो ।
पर्वका अवसरमा काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरबाट आएका तमू (गुरुङ) समुदायका व्यक्तिहरू आफ्नो मौलिक भेषभूषा, सांस्कृतिक झाँकी र परम्परागत नृत्यसहित टुँडिखेलमा भेला भएका छन् । टुँडिखेलमा आयोजना गरिएको विशेष कार्यक्रममा गुरुङ संस्कृतिको झल्को दिने विविध प्रस्तुति प्रदर्शन गरिएको छ ।
तमू ल्होसार सूर्यको किरणसँग सम्बन्धित पर्व मानिन्छ । गुरुङ बाहुल्यता रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले पर्ने विश्वासका कारण पुस १५ गते यो पर्व मनाइने किम्बदन्ती छ । त्यसपछि क्रमशः तामाङ र शेर्पा समुदायको बसोबास भएका क्षेत्रमा सूर्यको ताप पर्ने भएकाले माघ र फागुनमा ल्होसार मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि रात छोटिँदै जाने भएकाले पनि तमू ल्होसारको विशेष महत्व रहेको बताइन्छ । पर्वको अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । यसै सन्दर्भमा टुँडिखेलमा आयोजित कार्यक्रममा विशिष्ट अतिथिहरूको उपस्थिति रहने आयोजकले जनाएको छ । तमू ल्होसारले गुरुङ समुदायको सांस्कृतिक पहिचान, एकता र परम्परालाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।

