बाघको आक्रमण: घाँस काट्न गएकी १७ वर्षीया किशोरीको ज्यान गयो



बर्दिया,पुस १५ । बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएकी १७ वर्षीया किशोरीको बाघको आक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा कोठिया गाउँकी बिनीता परियार रहेको प्रहरीले जनाएको छ।

्थानीयका अनुसार आमा–छोरीसहित पाँच जनाको समूह सामुदायिक वनतर्फ घाँस काट्न जाँदै गर्दा अचानक बाघले आक्रमण गरेको हो। उकालो चढ्दै गर्दा छोरीले आमालाई तानिरहेको अवस्थामा पछाडिबाट बाघले आक्रमण गरी बिनीतालाई जंगलभित्र लगेको पारिवारिक स्रोतले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी र स्थानीयबासीले खोजतलास गर्दा परियारलाई वन क्षेत्रमा गम्भीर अवस्थामा फेला पारिएको थियो। उपचारका लागि बर्दिया अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो।

डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामगोपाल चौधरीका अनुसार प्रारम्भिक अनुसन्धानमा पाटेबाघको आक्रमण भएको आशंका गरिएको छ। यद्यपि, पोस्टमार्टम रिपोर्ट आएपछि मात्र चितुवा वा पाटेबाघमध्ये कुन वन्यजन्तुले आक्रमण गरेको हो भन्ने यकिन हुने उहाँले बताउनुभयो। आवश्यक प्रक्रिया पूरा गरी शवको पोस्टमार्टम आजै गरिने प्रहरीले जनाएको छ।

पछिल्लो समय बर्दियामा वन्यजन्तुको आक्रमणका घटनाहरू बढ्दै गएका छन्। पुस महिनाभित्र मात्रै वन्यजन्तुको आक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ भने एक जना घाइते भएका छन्। चालु आर्थिक वर्षमा चितुवा र बाघको आक्रमणबाट छ जनाको मृत्यु भएको जिल्ला वन कार्यालयको तथ्याङ्क छ। विशेषगरी बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रभन्दा बाहिरका सामुदायिक वन क्षेत्रमा यस्ता आक्रमण बढ्दै गएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्