मगर दम्पतीको विभत्स हत्या
ओखलढुंगा,पुस १५ । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक मगर दम्पतीको विभत्स हत्या भएको छ। स्थानीयका अनुसार अन्दाजी ६० वर्षका शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको गएराति हत्या भएको हो।
बिहान अबेरसम्म घरबाट बाहिर ननिस्किएपछि छिमेकीले बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि घरभित्र प्रवेश गर्दा दुवै जनाको शव फेला परेको थियो। घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा टोली घटनास्थल पुगेको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा दम्पतीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ। घटनास्थल र शवको अवस्थाको सूक्ष्म अध्ययन गर्न कोशी प्रदेश प्रहरी कार्यालय धरानस्थित केनाइन शाखाबाट तालिम प्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभएको छ।
हत्या कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान जारी रहेको र दोषी पहिचानका लागि सबै सम्भावित कोणबाट छानबिन भइरहेको प्रहरीले जनाएको छ। यस घटनापछि भदौरे क्षेत्रमा शोक र त्रासको वातावरण सिर्जना भएको छ।
यसअघि पनि केही महिना अघि ओखलढुङ्गाकै सिद्धिचरण नगरपालिका–४ चार्खुमा ५२ वर्षीया रत्नकुमारी कट्वाल कार्कीको घरमै हत्या भएको थियो। सो घटनामा पनि तालिम प्राप्त कुकुर प्रयोग गरी अनुसन्धान गरिए तापनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन। लगातार भइरहेका यस्ता घटनाले जिल्लाको सुरक्षा अवस्थाप्रति स्थानीयवासी चिन्तित बनेका छन् ।

