एलपी ग्यास बुलेट दुर्घटना : पूर्व–पश्चिम राजमार्ग रौतहटमा घण्टौँदेखि ठप्प
रौतहट,पुस १५ । आज बिहान ७:३० बजेदेखि पूर्व–पश्चिम महेन्द्र राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटनामा परेपछि राजमार्ग बन्द भएको हो ।
भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ एटी २११४ नम्बरको ग्यास ट्याङ्कर आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनापछि राजमार्ग खुलाउने प्रयास जारी रहे पनि प्राविधिक समस्याका कारण अझै खुल्न नसकेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिनुभयो ।
बिहान ९ बजेदेखि ग्यास कम्पनीका प्राविधिक तथा नेपाल आयल निगम वीरगञ्ज शाखाको टोलीले बुलेट हटाउने प्रयास गरिरहेको भए पनि ग्यास लिक रोक्न नसक्दा काममा ढिलाइ भएको बताइएको छ । दुर्घटनाग्रस्त बुलेट हटाउन छवटा क्रेन प्रयोग गरिएको छ ।
दुर्घटनामा ट्याङ्कर चालक भारतको कदोरा जिल्ला, जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
राजमार्ग अवरुद्ध भएपछि पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुर क्षेत्रमा थन्किएका छन् भने केही सवारीसाधन चन्द्रनिगाहपुर–गौर सडक हुँदै बालचनपुर र जङ्गल सहिया भएर करिब ३५ किलोमिटर घुमाउरो बाटो प्रयोग गरी आवतजावत गरिरहेका छन् । राजमार्ग कहिले खुल्ने भन्नेबारे अझै निश्चित नभएको प्रहरीले जनाएको छ ।

