‘दुब्लाहरूको गठजोड’ भन्दै ओलीको कटाक्ष: एमालेसँग रास्वपाले मुकाविला गर्न नसक्ने दाबी
काठमाडौँ,पुस १५। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङबीचको सम्भावित राजनीतिक सहकार्यलाई ‘दुब्लाहरूको गठजोड’को संज्ञा दिएका छन्।मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार (पुस १५) काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमालेजस्तो बलियो पार्टीसँग सामना गर्न नसकेर कमजोर शक्तिहरू एकआपसमा जोडिन खोजेको टिप्पणी गरेका हुन्।
ओलीले बलियासँग लड्न दुब्लाहरूले मोर्चाबन्दी गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै यस्ता एकता आज बनेर भोलि भत्किने गरेको व्यंग्य गरे।उनले केही व्यक्तिहरू मिलेर विशाल एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गर्दै घैँटामा बोकेको पानीले महासागरसँग मुकाविला गर्न नसक्ने उदाहरण प्रस्तुत गरे।
एमालेलाई ‘सिंह’को संज्ञा दिँदै ओलीले कुखुरा, बाख्रा वा स्यालले मोर्चा बनाएर सिंहलाई पराजित गर्न नसक्ने तर्क गरे। विशाल पार्टीसँग भिड्न कांग्रेस र एमालेबाहेकका शक्तिहरूले जो–कोहीसँग पनि सहकार्य र एकताको कुरा गरिरहेको उनको दाबी थियो।
उनको अभिव्यक्तिले आगामी दिनमा सम्भावित राजनीतिक गठजोड र ध्रुवीकरणबारे नयाँ बहसलाई थप चर्काउने संकेत गरेको छ।

