चुनावको वातावरण नबने संसद् पुनःस्थापना हुन्छ : अध्यक्ष ओली



काठमाडौँ, पुस १६ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुनावी वातावरण बनाउन नसके प्रतिनिधिसभा पुनःस्थापना हुनसक्ने चेतावनी दिनुभएको छ। चुनावी प्रक्रियामा सहभागी हुन एमाले तयार भए पनि अहिलेसम्म सरकार त्यसका लागि अनुकूल वातावरण बनाउन असफल भएको उहाँको भनाइ छ।

मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘महाधिवेशनका सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठिमा बोल्दै अध्यक्ष ओलीले लोकतन्त्र संकटमा पर्दा सर्वोच्च अदालतले समयमै न्याय दिन सक्नुपर्ने आवश्यकता औँल्याउनुभयो।समय घर्किसकेपछि आउने फैसलाको अर्थ नहुने भन्दै उहाँले मुलुक अप्ठ्यारोमा पर्दा अदालतले निर्णायक भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो।

अध्यक्ष ओलीले लोकतन्त्रमा निर्वाचनको विकल्प नभए पनि निष्पक्ष र भयरहित वातावरण अनिवार्य हुने उल्लेख गर्नुभयो। राजनीतिक नेताहरूलाई लखेटेर वा दमन गरेर निर्वाचन हुन नसक्ने उहाँको भनाइ थियो। असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्दै उहाँले संसद् पुनःस्थापना अपरिहार्य भएको स्पष्ट पार्नुभयो।

निर्वाचनअघि नै प्रधानमन्त्रीको भागबण्डाको चर्चा भइरहेको भन्दै अध्यक्ष ओलीले त्यस्तो अभ्यास निरर्थक भएको टिप्पणी गर्नुभयो।निर्वाचन भए पनि काँग्रेस र एमालेजस्ता ठूला दलविनाको सरकार बन्न नसक्ने उहाँको दाबी थियो। प्रतिगमनतर्फ लैजाने प्रयास भए पनि एमाले र काँग्रेसजस्ता शक्तिशाली दल रहँदासम्म लोकतन्त्रमा आँच आउन नदिइने उहाँले बताउनुभयो।

देशको लोकतन्त्र, संविधान, नीति, विधि र राष्ट्रिय स्वाभिमानका मुद्दामा एमाले र काँग्रेसबीच सहकार्य हुनसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेको सम्पन्न ११ औँ महाधिवेशनले नेतृत्वको वैधता र लोकप्रियताको स्पष्ट प्रमाण दिएको बताउनुभयो। जनअनुमोदित र निरविवाद नेतृत्वसहित अद्यावधिक नेतृत्व टोली एमालेसँग रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले ११ औँ महाधिवेशनले पार्टीलाई विभाजन गर्न खोज्ने शक्तिलाई पराजित गरेको दाबी गर्नुभयो। एमाले देशकै सबैभन्दा सङ्गठित र व्यवस्थित पार्टी भएको तथ्य महाधिवेशनले पुष्टि गरेको उहाँको भनाइ थियो।

एमाले नेता रामेश्वर फुयाँलले देशमा विद्यमान गरिबी, पछौटेपन र शोषण अन्त्य गर्न कम्युनिष्ट आन्दोलनले निर्णायक भूमिका खेल्नुपर्ने बताउनुभयो। मदन–आश्रित र बीपी कोइरालाको सपना पूरा गर्दै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न एमाले र काँग्रेसजस्ता शक्तिहरूको सहकार्य आवश्यक रहेको उहाँले जोड दिनुभयो।

कार्यक्रम मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्मा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललगायतले पनि धारणा राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्