हिउँदे वर्षा नहुँदा आकाशमै अड्कियो धुलो–धुवाँ, देशभर वायु प्रदूषण खतरनाक तहमा



काठमाडौँ, पुस १६ । हिउँदे वर्षाको ढिलाइसँगै नेपालमा वायु प्रदूषण झन् भयावह बन्दै गएको छ । पुस आधा बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा धुलो र धुवाँ आकाशमै थुप्रिँदै गएकाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभाग प्रदूषणको चपेटामा परेका छन् ।जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुले एक–दुई दिन पातलो बादल भित्र्याए पनि उल्लेखनीय वर्षा हुने सम्भावना छैन ।मौसमविद् गोविन्द झाले उच्च पहाडी भेगका एक–दुई स्थानमा मात्र फाट्टफुट्ट पानी पर्न सक्ने र अन्यत्र सुक्खा नै रहने जानकारी दिनुभयो ।सुक्खा पश्चिमी वायुसँगै धुलोका कण प्रवेश गर्दा प्रदूषण अझ बढ्ने जोखिम रहेको उहाँको भनाइ छ, यद्यपि गण्डकी र कर्णाली क्षेत्रका उच्च हिमाली भेगमा भने सामान्य हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

पूर्वी हिमाली भेग सुक्खा रहँदा त्यही बाटो हुँदै भारतबाट प्रदूषणयुक्त वायु नेपाल भित्रिन थालेको मौसमविद्हरू बताउँछन् । यसले गर्दा काठमाडौँ उपत्यकामा बिहान–साँझ बाक्लो तुवाँलो लाग्ने, घाम राम्ररी नदेखिने अवस्था बढ्दो छ । तराई क्षेत्रमा चिसोसँगै हुस्सु थप बाक्लिने सम्भावना रहेको जनाइएको छ ।

वातावरण विभागका अनुसार पछिल्लो २४ घण्टाको वायु गुणस्तर सूचकाङ्कले काठमाडौँको रत्नपार्कमा १६२, शङ्खपार्कमा १५८, भक्तपुरमा १५६ र खुमलटारमा ११५ पुगेको छ, जुन अति हानिकारक तह हो । प्रतिघण्टा आधारमा हेर्दा मङ्गलबार साँझ सुर्खेतमा सबैभन्दा बढी १७० सूचक पुगेको र काठमाडौँ उपत्यकाका अधिकांश स्थान अत्यधिक प्रदूषणयुक्त देखिएको विभागले जनाएको छ ।

वर्षा नहुँदा तल्लो वायुमण्डलमा तैरिएका धुलो र धुवाँ जमिनमा नखस्ने भएकाले प्रदूषण थप सघन हुँदै गएको वातावरण निरीक्षक गोविन्द्र लामिछानेले बताउनुभयो । यसले जनजीवन मात्र होइन, बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घरोगीहरूको स्वास्थ्यमा गम्भीर असर पार्ने चिकित्सकहरूको चेतावनी छ ।

प्रदूषण नियन्त्रणका लागि विभागले सहर क्षेत्रमा डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनको सडक परीक्षण तीव्र पारेको छ भने कृषिजन्य अवशेष जलाउने कार्य रोक्न सचेतना अभियान पनि सञ्चालन गरिरहेको जनाएको छ । जाडोको समयमा टायर, दाउरा वा घुर बालेर आगो ताप्ने प्रवृत्ति निरुत्साहित गर्न र सकेसम्म घरभित्रै न्यानो भएर बस्न विभागले नागरिकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्