राष्ट्रिय दलित पत्रकार संघ बागमती प्रदेशको नेतृत्व वसन्त परियारलाई



काठमाडौं,पुस १६ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल बागमती प्रदेशको अध्यक्षमा पत्रकार वसन्त परियार चयन हुनुभएको छ ।मंगलबार सम्पन्न संघको प्रथम प्रदेश अधिवेशनले परियारको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संविधानले सुनिश्चित गरेको दलित समुदायको हकअधिकारको रक्षा गर्न अझ सशक्त रूपमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले दलित समुदायका अधिकार कटौती हुने खतरा बढ्दै गएको भन्दै त्यसको संरक्षण र थप अधिकार प्राप्तिका लागि निरन्तर संघर्ष अपरिहार्य रहेको बताउनुभयो । मुख्यमन्त्री बानियाँले नेपाली कांग्रेसले २००७ सालदेखि दलित अधिकारका पक्षमा संघर्ष गर्दै आएको उल्लेख गर्दै बागमती प्रदेश सरकारले दलित समुदायको आयआर्जन र सशक्तीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री जीतु गौतमले राज्यका सबै संरचनामा दलित समुदायको अनिवार्य सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था आवश्यक रहेको धारणा राख्नुभयो । यस्तै दलित मुक्ति मोर्चाका अध्यक्ष तथा पूर्वमन्त्री दलजीत श्रीपाइलीले पछिल्लो राजनीतिक घटनाक्रमले संविधान नै संकटमा पर्न सक्ने खतरा देखिएकाले संविधान रक्षाका लागि दलित समुदायको एकता अझ बलियो बनाउनुपर्ने बताउनुभयो ।

अधिवेशनले संघको उपाध्यक्षमा विष्णु विक र चण्डिका नेपाली तथा सचिवमा गोपाल विश्वकर्मा चयन गरेको छ । नवनिर्वाचित नेतृत्वले दलित पत्रकारहरूको पेशागत हकहित, क्षमता अभिवृद्धि र सामाजिक न्यायका मुद्दालाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्