१२ वर्षमा पनि नफर्किएको चहलपहल : बालाजु–रानीपौवा–पिपलटार सडक ओझेलमा
• भोलाराज पौडेल
नुवाकोट,पुस १६। कहिल्यै नथाक्ने जस्तो देखिने बालाजु–रानीपौवा–पिपलटार सडक आज सुनसान बनेको छ । ११–१२ वर्षअघिसम्म दैनिक करिब तीन सय यात्रुवाहक सवारी गुड्ने यो सडक अहिले सम्झनामा मात्र सीमित हुँदै गएको छ ।
गल्छी–देवीघाट–काठमाडौं सडकभन्दा बढी चहलपहल रहने यो मार्ग ट्राउट हाइवे, ककनी र आसपासका पर्यटकीय क्षेत्रतर्फ जाने मुख्य विकल्प मानिन्थ्यो । छहरे–टोखा सडक व्यावसायिक नबनेको समय यसै सडकमा गाडीको लामो लाइन लाग्थ्यो । सडक छेउछाउका चिया पसल, होटल र खुद्रा पसलहरू यात्रुबाट खचाखच भरिन्थे । खाजा र खाना खान समेत पालो कुर्नुपर्ने अवस्था रहन्थ्यो ।
तर पछिल्लो ११ वर्षदेखि यो सडकको अवस्था एकाएक फेरिएको छ । अहिले दिनभरि चार–पाँचवटा बस मात्रै चल्छन् । ती बसमा यात्रुभन्दा बढी विगतका चहलपहलका सम्झनाहरू बोकेको स्थानीयहरू बताउँछन् ।
यो सडक देवीघाट र त्रिशूली जलविद्युत आयोजनाका लागि पहुँच मार्गका रूपमा वि.सं. २०१८ सालतिर निर्माण गरिएको हो ।ऐतिहासिक महत्त्व बोकेको यस सडकसँगै यहाँका बस्ती र नागरिकहरूको जीवन पनि जोडिएको थियो । सडकलाई आधार बनाएर व्यवसाय सञ्चालन गरेका सयौँ परिवारको रोजीरोटी यहीँबाट चल्थ्यो ।
सडक सुनसान बनेसँगै अधिकांश व्यवसायी विस्थापित भइसकेका छन् । जन्मथलो छाडेर जान नसक्ने केही स्थानीय भने आज पनि पसल खोलेर दिनभरि ग्राहकको प्रतीक्षामा बस्ने गरेका छन् । “कुनै दिन फेरि गाडीहरू आउलान्, मानिसको चहलपहल फर्किएला,” भन्ने आशामा उनीहरूको दैनिकी बितिरहेको छ ।
‘१२ वर्षमा खोलो फर्किन्छ’ भन्ने उखानजस्तै, रानीपौवासम्म सडक कालोपत्रे हुन्छ भन्ने आशा बाहेक यहाँ चहलपहल फर्किने ठोस संकेत देखिएको छैन । वैकल्पिक सडक विस्तार र सरकारी उपेक्षाका कारण ऐतिहासिक यो मार्ग ओझेलमा पर्दै गएको स्थानीयको गुनासो छ ।
स्थानीय बासिन्दाले बालाजु–रानीपौवा–पिपलटार सडकको स्तरोन्नति र पुनःजीवनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।नत्र इतिहास बोकेको यो सडक र यससँग जोडिएको जीवनशैली कागजमै सीमित हुने खतरा बढ्दै गएको उनीहरूको चिन्ता छ ।

