पश्चिमी वायुको प्रभावले मौसम बद्लियो, तराईमा हुस्सु बाक्लिँदै
काठमाडौँ,पुस १६। देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिँदा मौसममा परिवर्तन आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।
म
हाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरेको छ । यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको जनाइएको छ ।
हुस्सु र कुहिरोका कारण विशेषगरी तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ । चिसो मौसमसँगै दृश्यता कम हुने हुँदा सवारी चालकलाई सतर्कता अपनाउन सुझाव दिइएको छ ।
काठमाडौँ उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको छ । चिसो मौसम कायमै रहने भएकाले विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई स्वास्थ्यप्रति ध्यान दिन मौसमविद्हरूले सुझाव दिएका छन् ।

