गोरखा बारपाक–लाप्राक सडकमा ट्रकको ठक्करबाट मजदुरको मृत्यु
गोरखा,पुस १६ । बारपाक–लाप्राक सडक खण्डमा ट्रकको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ। सोमबार बारपाकबाट लाप्राकतर्फ जाँदै गरेको ना. ५ ख. ९२७१ नम्बरको ट्रकले ठक्कर दिँदा सडक निर्माणमा संलग्न उदयपुरको बेलका नगरपालिका–४, लालबजार घर भएका ४० वर्षीय दीपककुमार राई गम्भीर घाइते हुनुभएको थियो।
घाइते राईको उपचारका क्रममा बुधबार बिहान चितवनस्थित पुरानो मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। प्रहरी निरीक्षक राजन लम्सालका अनुसार राईको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
दुर्घटनापछि ट्रक चालक सहिद लखन गाउँपालिका–७ का इन्द्रबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीका अनुसार उक्त सडक खण्डमा निर्माण कार्य जारी रहेकाले सवारी साधन सञ्चालन गर्दा विशेष सावधानी अपनाउनुपर्ने भए पनि लापरबाहीका कारण दुर्घटना दोहोरिने गरेको गुनासो छ। मृतक राई केही समयदेखि बारपाक–लाप्राक सडक आयोजनामा मजदुरी गर्दै आउनुभएको थियो।

