समानुपातिक सूचीबारे फैलाइएका भ्रम असत्य : कुलमान घिसिङ
काठमाडौं,पुस १६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सूचीका विषयमा आफूविरुद्ध फैलाइएका भ्रम निराधार रहेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले समानुपातिक सूचीमा रहेका व्यक्तिहरूलाई आफ्ना ‘भान्जा’ र ‘ससुरा’ भनेर प्रचार गरिएकोप्रति आपत्ति जनाएका हुन् । ‘समाचार तथा चर्चामा भान्जा भनेर उल्लेख गरिएका व्यक्ति मेरा भान्जा होइनन् । साथै उनी उज्यालो नेपाल पार्टीबाट नभई अर्कै टिमबाट सिफारिस भएका व्यक्ति हुन्,’ उनले स्पष्ट पारेका छन् ।
त्यस्तै, समानुपातिक सूचीमा रहेका अर्का व्यक्तिलाई आफ्नो ‘ससुरा’ भनेर प्रचार गरिनु पनि असत्य रहेको घिसिङको भनाइ छ । ‘उनी मेरो आफ्नै ससुरा होइनन्,’ उनले उल्लेख गरेका छन् ।
घिसिङले समानुपातिक उम्मेदवार सूची कुनै व्यक्ति विशेषको दबाब वा चाहनामा नभई पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको दाबी गरेका छन् । ‘म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध उभिँदै आएको छु । त्यसै यात्रालाई कमजोर पार्ने उद्देश्यले फैलाइने यस्ता हल्ला दुःखद छन्,’ उनले लेखेका छन् ।
राजनीतिमा असहमति स्वाभाविक भए पनि झुटा आरोप र भ्रम फैलाएर बदनाम गर्ने प्रयास आपत्तिजनक भएको उनको भनाइ छ ।साथै, बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सच्याइने प्रतिबद्धता समेत घिसिङले व्यक्त गरेका छन् ।

