पुस मसान्तभित्र कांग्रेसको विशेष अधिवेशन आह्वान गर्ने तयारी : महामन्त्री गगन थापा



काठमाडौं,पुस १६ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने गरी पार्टी अगाडि बढिरहेको बताउनुभएको छ । राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले पार्टीभित्र एकता र समन्वय सुदृढ गर्न विशेष अधिवेशन अपरिहार्य बनेको उल्लेख गर्नुभयो ।

महामन्त्री थापाले कांग्रेसले उत्तरदायित्वबोधका साथ राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको बताउँदै त्यो आत्मविश्वास पार्टीको एकता र समन्वयबाट मात्र प्राप्त हुने धारणा राख्नुभयो । “एकता निषेधबाट वा फरक विचारलाई बेवास्ता गरेर होइन, भिन्न मतहरू खुला रूपमा व्यक्त गर्न सकिने साझा मञ्चको प्रयोगबाट उत्पन्न हुन्छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार आजको परिस्थितिमा कांग्रेसको विशेष अधिवेशन त्यही साझा मञ्च बन्न सक्छ । पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारी मात्र नभई पार्टीभित्रको एकता, विश्वास र आत्मबलका लागि अनिवार्य भइसकेको उहाँको भनाइ छ ।

महामन्त्री थापाले राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस निर्माण गर्नु आज प्रत्येक कार्यकर्ताको युगीन जिम्मेवारी भएको उल्लेख गर्नुभयो । उहाँले आजभन्दा ४९ वर्षअघि विषम परिस्थितिमा विपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूले ‘राष्ट्रिय एकता र मेलमिलाप’को आह्वान गर्दै स्वदेश फर्किएको ऐतिहासिक सन्दर्भ पनि स्मरण गर्नुभयो ।

अन्त्यमा महामन्त्री थापाले आमजनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धामार्फत अभिव्यक्त हुन सकोस् भन्ने कामना गर्दै विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्वबोधका साथ अघि बढ्न सबैमा आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्