काममै उत्रिएको नेतृत्वः पञ्चकन्यामा चिया बगान व्यवस्थापन सुरु



नुवाकोट,पुस १६ । पञ्चकन्या गाउँपालिका–भित्र स्थानीय रोजगारी, सीप विकास र उत्पादनमुखी अभियानलाई सशक्त बनाउने उद्देश्यका साथ चिया बगानको काटछाँट तथा व्यवस्थापन कार्य सुरु गरिएको छ। रोजगार सेवा केन्द्र, पञ्चकन्या गाउँपालिकाद्वारा सञ्चालन गरिएको चिया काटछाँट तथा व्यवस्थापन तालिम सम्पन्न भएसँगै घ्याङस्वारा पर्यटकीय क्षेत्रभित्र तीन वर्षअघि रोपिएका चिया बगानमा आजदेखि व्यवहारिक काम सुरु गरिएको हो।

कार्यक्रममा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, रोजगार संयोजक सरोज केसी सरोवर र रोजगार सहायक सुरेन्द्र लामा स्वयं फिल्डमै उपस्थित भई श्रमिकहरूसँगै हातेमालो गर्दै काममा सहभागी हुनु भएको छ। नेतृत्व, कर्मचारी र श्रमिक एउटै स्थानमा उभिएर काम गर्दा कार्यक्रमप्रतिको विश्वास र प्रभावकारिता अझ बढेको सहभागीहरूको भनाइ छ।

चिया तथा कफी विकास बोर्ड कार्यालय, रानीपौवाका सूर्यमान तामाङको सहजीकरणमा सञ्चालन भइरहेको यो कार्यक्रम राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममा सूचीकृत श्रमिकहरूको प्रत्यक्ष सहभागितामा ‘काम गर्दै–सिक्दै र सिक्दै–काम गर्दै’ भन्ने अवधारणाअनुसार अघि बढाइएको हो।

स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित सुरु गरिएको यस अभियानबाट आगामी चैत महिनादेखि चिया उत्पादन सुरु हुने अपेक्षा गरिएको छ। काममै उत्रिएको नेतृत्व, प्रतिबद्ध कर्मचारी र श्रमको सम्मानले पञ्चकन्यामा उत्पादनमुखी विकासको नयाँ उदाहरण प्रस्तुत गरेको स्थानीयवासीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्