दिवंगत समाजसेवी पाठकको सम्झनामा नुवाकोट तादीका एकसय विद्यार्थीलाई शैक्षिक सामग्री
नुवाकोट,पुस १६ । जिल्लाको तादी गाउँपालिकास्थित एक विद्यालयमा अध्ययनरत एकसय विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामग्री सहयोग हस्तान्तरण गरिएको छ ।
समाजसेवी तथा शिक्षाप्रेमी स्व. एकाबहादुर पाठकको स्मृतिमा ८ वर्षअघि स्थापना गरिएको सामाजिक संस्था “एकाबहादुर पाठक समाज विकास संस्था”मार्फत् उहाँको १०६ औँ जन्मजयन्तीका अवसरमा सोमबार जिल्लाको तादी गाउँपालिका वडा नं. ४ स्थित सुन्दरा माध्यामिक विद्यालयमा अध्ययनरत एकसय जना विद्यार्थी हरुका लागि स्कुल ब्यागसहित कापि-कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र शिक्षा सम्वद्ध सरोकारवालाहरुको उपस्थितिमा तादी गाउँपालिका अध्यक्ष सन्तबहादुर तामाङले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको संस्थाका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्णराज पाठकले जानकारी दिनुभयो । यसअघि पनि यसै विधालयलाई चितवन निवासी समाजसेवी जगदिश्वर थपलियाले खेलकुद सामग्री सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
दिवंगत समाजसेवी पाठकलाई सम्झिँदै गाउँपालिका अध्यक्ष तामाङले हिजोको त्यो अशिक्षाको अन्धकार समाजमा आफ्नो सम्पत्ति बेचेरै दुर्गम क्षेत्रमा धेरै विद्यालयहरु स्थापना गरेर ठुलो योगदान पुर्याउनुभएकोमा उहाँको त्यागको चर्चा गर्नुभयो । यस कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सञ्जु प्याकुरेल, वडाध्यक्ष अश्विन कुमार पाण्डे, इलाका प्रशासन कार्यालय सातविसेका प्रमुख सावित्रा भण्डारी, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष रामहरि गजुरेल, राजनीतिज्ञ राजकुमार पण्डित, सुन्दर मावि सातविसेका प्रधानाध्यापक कपिलेश्वर मण्डल, सहप्राध्यापक कुमारराज श्रेष्ठ, सुन्दरा मावि डुग्रनीका प्रद्यानाध्यापक राजन पाठक, संस्थाका प्रमुख संरक्षक पल्लवराज पाठक, महासचिव दिपकराज पाठक लगायतका वक्ताहरुले समाजसेवी पाठकको सामाजिक योगदान र उहाँको समर्पणलाई समाजले युगौँयुगसम्म स्मरण गरिरहने बताउँदै उहाँ मरेर पनि अमर रहिरहनुभएको धारणा राखेका थिए ।
संस्थाका अगुवा तथा अभियन्ता वन्दना पाठक थपलियाले यस पवित्र सामाजिक कार्यमा आर्थिक योगदान लगायतका अन्य प्रत्यक्ष/अप्रत्यक्ष रुपमा साथ र सहयोग गर्नुहुने पाठक परिवार, आफन्त, शुभचिन्तक, शुभेच्छुक सहित सबै सहयोगीहरुप्रति सम्मान व्यक्त गर्दै आफ्ना हजुरबुबाको समाजसेवाको गर्विलो इतिहासले आगामी दिनमा यसैगरी सामाजिक कार्यमा अघि बढ्न आफुहरुलाई सबैको यस्तै साथ र प्रोत्साहन पनि मिलिरहनेमा अपेक्षा गर्नुभएको छ ।
दिवंगत समाजसेवी पाठकले आजभन्दा ५० वर्षअघि सुन्दरा मावि सहित नुवाकोटको पुर्वी भेगका दुर्गम र दुर-दराजका गाउँ वस्तिमा शिक्षाको उज्यालो ज्योति बाल्ने अठोट बोकेर करिब एक दर्जन विद्यालयहरु स्थापना गर्न अगुवाइ गर्नुभएको थियो । जसका लागि उहाँले आफ्ना परिवारको गाँस काटेर, सम्पति बेचेर पनि गरिब, दिनदु:खी र अशिक्षामा पिल्सिएर बाँच्न विवश नागरिकहरु र तिनका छोराछोरीका लागि स्वर्णिम युगको बिहानी ल्याउन योगदान गर्नुभयो । उहाँको यसै त्याग, संघर्ष र योगदानको इतिहासलाई सम्मान गर्दै तादी गाउँपालिकाले लागू गरेको स्थानिय पाठ्यक्रम कक्षा ८ मा समेत समावेश गरी आज यहाँका हरेक विद्यालयमा पठनपाठन गराउने अवसरसमेत दिएको छ ।

