पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र हिमाली भेगमा हल्का वर्षा–हिमपातको सम्भावना



काठमाडौँ,पुस १७ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मौसममा सामान्य परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका अधिकांश स्थानमा हुस्सु लागेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। यसैबीच कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

राति तराईका केही स्थानमा हुस्सु रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्